नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् सञ्चार र सूचनाको हक सुनिश्चित गरी आमसञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यवसायिक बनाई लोकतन्त्रको सुदृढीकरण गर्न प्रदेश आमसञ्चारमाध्यमको स्थापना र सञ्चालनका लागि वाञ्छनीय भएकोले मधेश प्रदेश सभाले प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ जारी गरेको छ । सोही ऐन बमोजिम निर्दिष्ट गरेका कामकार्वाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन प्रदेश सञ्चार नियमावली २०७७ बनाईएको छ ।
प्रदेश सञ्चार सम्वन्धी ऐन र नियमावलीलाई कार्यान्वयन गर्न गराउनका लागि माननीय मुख्यमन्त्री लालबाबु राउतज्यूको अध्यक्षतामा बसेको मन्त्री परिषद्को मिति २०७७ माघ २३ गतेको बैठकले आमसञ्चार प्राधिकरणको अध्यक्षमा श्री श्यामसुन्दर यादवलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री मा. ज्ञानेन्द्र कुमार यादवज्यूले औपचारिक रुपमा मिति २०७७ माघ २९ गते आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवलाई नियुक्ति-पत्र प्रदान गर्नुभएको हो । यसैगरी २०७७ वैशाख २० गतेको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणको सदस्यमा श्री अमरेन्द्र कुमार यादव र श्रीमती प्रतिमा चौधरीलाई नियुक्त गरियो ।
प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ ले प्राधिकरणलाई अविछिन्न उतराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाको रुपमा परिकल्पना गरेको छ । मधेश प्रदेश सरकारको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको आमसञ्चार प्राधिकरणको कार्यालय धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नम्वर-२ स्थित कदमचौकमा स्थापना गरिएको छ । आमसञ्चारमाध्यमको इजाजत, अभिलेखिकरण, अनुगमन, नियमन, पत्रकारिता पेशालाई व्यवसायिक, मर्यादित बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने, सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको प्रवद्र्धन, क्षमता अभिवृद्धि, प्रशिक्षण, सेवा-सुविधा, प्रेस प्रतिनिधिको नियमन सहितका विषयहरुमा कार्यहरु आमसञ्चार प्राधिकरणको कार्यक्षेत्रभित्र पर्दछ ।