नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् सञ्चार र सूचनाको हक सुनिश्चित गरी आमसञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यावसायिक बनाई लोकतन्त्रको सुदृढीकरण गर्न प्रदेशस्तरमा आमसञ्चारमाध्यमको स्थापना तथा सञ्चालन गर्न वाञ्छनीय भएकाले मधेश प्रदेश सभाले प्रदेश सञ्चार सम्बन्धी ऐन, २०७७ जारी गरेको छ। सोही ऐनद्वारा निर्दिष्ट गरिएका कामकारबाहीलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश सञ्चार नियमावली, २०७७ निर्माण गरिएको छ।

प्रदेश सञ्चार ऐन तथा नियमावलीलाई कार्यान्वयन गर्न-गराउन गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रस्तावमा माननीय मुख्यमन्त्री शतिश कुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को मिति २०८२/०१/०७ गतेको बैठकले आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको अध्यक्षमा जितेन्द्र कुमार खड्गालाई नियुक्त गरेको थियो।

मिति २०८२/०१/०८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहबीच अध्यक्ष पदको शपथग्रहण सम्पन्न भएपछि उहाँले सोही दिन आफ्नो कार्यभार सम्हाल्नुभएको थियो।

त्यसैगरी, मिति २०८२/०२/०५ गते गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मन्त्रीस्तरीय निर्णयबाट ज्योती कुमारी झानवीन कुमार गुप्तालाई सदस्य पदमा नियुक्त गरेपछि आमसञ्चार प्राधिकरणको बोर्डले पूर्णता प्राप्त गरेको छ।

एस अघि माननीय मुख्यमन्त्री लालबाबु राउतज्यूको अध्यक्षतामा बसेको मन्त्री परिषद्को मिति २०७७ माघ २३ गतेको बैठकले आमसञ्चार प्राधिकरणको अध्यक्षमा श्री श्यामसुन्दर यादवलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री मा. ज्ञानेन्द्र कुमार यादवज्यूले औपचारिक रुपमा मिति २०७७ माघ २९ गते आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवलाई नियुक्ति-पत्र प्रदान गर्नुभएको हो । यसैगरी २०७७ वैशाख २० गतेको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणको सदस्यमा श्री अमरेन्द्र कुमार यादव र श्रीमती प्रतिमा चौधरीलाई नियुक्त गरिएको थियो ।

प्रदेश सञ्चार सम्बन्धी ऐन, २०७७ ले आमसञ्चार प्राधिकरणलाई अविच्छिन्न उत्तराधिकारवाला, स्वशासित र सङ्गठित संस्थाको रूपमा परिकल्पना गरेको छ।

मधेश प्रदेश सरकारको एक महत्वपूर्ण अङ्गका रूपमा रहेको आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको कार्यालय धनुषा जिल्लाको जनकपुरधाम स्थित भ्रमरपुरा चोकमा स्थापना गरिएको छ।

आमसञ्चार प्राधिकरणको प्रमुख कार्यक्षेत्रभित्र निम्न विषयहरू पर्दछन्:

  • आमसञ्चारमाध्यमको इजाजत प्रदान गर्ने;

  • सञ्चारमाध्यमको अभिलेखीकरण तथा अभिलेख व्यवस्थापन गर्ने;

  • सञ्चारमाध्यमको अनुगमन तथा नियमन गर्ने;

  • पत्रकारिता पेशालाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने;

  • सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको प्रवर्द्धन गर्ने;

  • सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा प्रशिक्षण सञ्चालन गर्ने;

  • सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई आवश्यक सेवा-सुविधा उपलब्ध गराउने तथा सहजीकरण गर्ने;

  • प्रेस प्रतिनिधिको नियमन गर्ने;

  • आमसञ्चार क्षेत्रको विकास, व्यवस्थापन, प्रवर्द्धन तथा नियमनसँग सम्बन्धित अन्य आवश्यक कार्यहरू गर्ने।

प्रदेश सञ्चार ऐन, २०७७ को दफा १२ तथा प्रदेश (तेस्रो संशोधन) सञ्चार नियमावली, २०७७ को नियम ५ ले आमसञ्चार प्राधिकरणको काम, कर्तव्य र अधिकार निर्दिष्ट गरेको छ।